यातायात व्यवस्था कार्यालय भरतपुरको आँपटारीमा स्थापनाका लागि वाग्मती प्रदेशको मन्त्रिपरिषद्बाट निर्णय भई प्रक्रिया अघि बढाइएको छ । भरतपुर महानगरपालिकाले जिल्लामा यातायात कार्यालय आवश्यकता भएको भन्दै प्रदेश सरकारसँग जग्गा प्राप्तिका लागि निर्णय गरिदिन अनुरोध गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुर महानगरपालिका–२ आँपटारीमा रहेको वन मन्त्रालयको खाली जग्गामा यातायात कार्यालय स्थापना गर्नका लागि प्रक्रिया अघि बढाइएको हो । सो ठाउँमा दुई बिघा सात कठ्ठा जग्गा माग गरिएको छ । दाहालले वन मन्त्रालयले प्रदेश सरकारको निर्णय गराएर आउन आग्रह गरेपछि सोहीअनुरुप प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले सो जग्गा यातायात कार्यालयलाई दिन अनुरोध गरी निर्णय गरेर पठाएको छ ।” सो निर्णय छिट्टै वन मन्त्रालय पठाएर आवश्यक निर्णयका लागि अनुरोध गरिने उहाँको भनाइ छ । दाहालले कार्यालय सञ्चालन भएसँगै यातायातसँग सम्बन्धित सम्पूर्ण काम यही हुने बताउनुभयो । जसबाट सङ्कलन भएको राजश्वको ५० प्रतिशत स्थानीय तहले पाउने भन्दै उहाँले भरतपुर महानगरलाई यसले चौतर्फी फाइदा पु¥याउने बताउनुभयो । हाल यातायातको कामका लागि यहाँका बासिन्दा वीरगञ्ज र हेटौँडा जान बाध्य छन् । वाग्मती प्रदेशका प्रमुख सचिव डा मानबहादुर बिकेले प्रदेश सरकारले भरतपुरको आँपटारीमा रहेको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराइदिन निर्णय गरेको जानकारी दिनुभयो । जग्गा प्राप्तिसँगै यातायात सेवा कार्यालय रहेको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना हुने बिकेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालय खुलेसँगै चितवनवासीले यातायातसँग सम्बन्धित सबै काम त्यही गर्न पाउने छन् ।” आवश्यक संरचनाका लागि बजेटसमेत विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष राम सुवेदीले विसं २०७४ बाट यहाँ यातायात व्यवस्था कार्यालय स्थापना गर्न पहल थालिएकामा अब बन्ने निश्चित भएको बताउनुभयो । जग्गा प्राप्ति र आवश्यक पहलका लागि चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत लागिपरेकै कारण अब कार्यालय खुल्नेमा आफूहरु विश्वस्त भएको सुवेदीको भनाइ छ । यहाँ कार्यालय नहुँदा आम नागरिकले दुःख पाएपछि निजी क्षेत्र पनि सक्रियरूपमा लागेको छ । कोभिड उपचार निःशुल्क भएपछि परिवारलाई राहत भरतपुर महानगरपालिका–५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल हुनुभयो ।

लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम रु चार लाखभन्दा माथि भयो । चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम देखेर भट्टराई झसङ्ग हुनुभयो । उहाँले अस्पतालमा राखेको धरौटी रु ३३ हजारबाहेक बिल रु चार लाख दुई हजार ४० थियो । उहाँलाई अस्पतालमा भर्नापछि छातीमा सङ्क्रमण देखिएपछि सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेरसमेत उपचार गरिएको तर रकमको जोहो गर्न नपाउँदै उहाँलाई थाहा भयो, चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितका लागि निःशुल्क उपचार गर्दै आएको छ । भट्टराईले बुवालाई खाना नरुचेर कमजोर भएपछि भदौ ११ गते चितवन मेडिकल कलेज लैजानुभएको हो । त्यसको भोलिपल्ट उहाँमा कोरोना सङ्क्रमण देखिएको थियो । भट्टराईले भन्नुभयो, “मेडिकल कलेजले सङ्क्रमितको उपचार निःशुल्क गरेकै कारण मजस्ता धेरैले उपचार खर्च जुटाउनु परेन ।” वृद्ध बुवाले कोरोना जितेको र निःशुल्क उपचार पाएकामा उहाँले खुशी प्रकट गर्नुभयो । सो मेडिकल कलेज कोरोना उपचार र परीक्षणमा अग्रणी स्थानमा रहेको छ । अस्पतालले हालसम्म २२९ सङ्क्रमितको उपचार गरेको छ । जसमध्ये अस्पतालमा ७२ जना उपचाररत रहेका छन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सरकारले गरेको निर्देशनअनुरुप कोरोना सङ्क्रमितको उपचार सम्बन्धित बिरामीको परिवारलाई निःशुल्क गरिएको बताउनुभयो । कोरोना सङ्क्रमित बढ्दै गएका कारण अस्पतालको स्रोत साधन उनीहरुको उपचारमा लगाइएको उहाँको भनाइ छ । कतिपय बिरामीले अन्य समस्या पनि कोरोना सङ्क्रमण देखिएपछि निःशुल्क गर्न दबाब दिएको भन्दै उहाँले त्यो सम्भव नरहेको बताउनुभयो । जिल्लामा सो मेडिकल कलेजसहित कोरोनाको उपचार भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !