नेपालमा आयात हुने सबै गाडीहरुको भुक्तानी अमेरिकी डलरमा हुने भएकाले डलर दिनहुँजसो झन् झन् महँगिदै गएपछि गाडीको मूल्य पनि स्वतः बढ्न जान्छ।

युक्रेन-रुस युद्ध सुरु हुनुभन्दा अघि अमेरिकी डलरको विनिमयदर नेपाली मुद्रासँग ११७ रुपैयाँ हाराहारी थियो। तर अहिले यो १० प्रतिशत हाराहारीले बढेर एक डलरबराबर १२८ रुपैयाँभन्दा पनि माथि लागिसकेको छ। बिहीबार यो १२८.२९ रुपैयाँ पुगेको छ।

यसरी डरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ। यसको छुट्टै फाइदा पनि नेपाललाई छ। तर रेमिट्यान्स आयभन्दा आयातमा बाहिरिने डलर रकम दोब्बरभन्दा निक्कै माथि छ। नेपालले उपभोगको अधिकांश हिस्सा आयातबाटै धान्नुपर्ने हुँदा त्यो सबै विदेशी मुद्रा तिरेर किन्नुपर्ने भएकाले डलर महँगिदा वस्तु तथा सेवाहरु थप महँगो पर्छ। सोही असर अहिले विद्युतीय सवारीमा पनि परेको हो।

गत अप्रिल महिनासम्ममा पर्चेज अर्डर (पीओ) अर्थात् खरिद आदेश दिइसकेका गाडीको भने मूल्य बढ्दैन। तर अब पीओ गरिने गाडीहरुको भने मूल्य बढेर आउने अटो व्यवसायीहरु बताउँछन्। एक अटो व्यवसायीले भन्छन्, ‘डलरको भाउ ११७ रुपैयाँ हुँदाको र १२७ रुपैयाँ पुग्दाको मूल्य एउटै हुँदैन।’

तीन महिनाअगाडि १२ हजार डलरमा पाइने गाडी अब खरिद गर्दा १३ हजार २०० भन्दा बढी पर्ने उनको भनाइ छ। यो भनेको तीन महिनापहिले खरिद गर्दाको भन्दा १२०० डलर अर्थात् ताजा विनिमय दरअनुसार झन्डै एक लाख ५४ रुपैयाँले महँगो हो। यो बिजक मूल्यमा मात्र यति रकमको प्रभाव पर्छ। बिजक मूल्यकै आधारमा सरकारलाई तिर्नुपर्ने भन्सार, अन्तःशुल्क लगायतका कर जोड्दा औसतमा अरु ४० प्रतिशतसम्म थपिन्छ।

त्यो सबै रकम बिक्रेताले उपभोक्ताबाटै असुल्छन्। यसकारण पनि एक त अब अर्डर गरिने इभीको बिजक मूल्य नै महँगिनेछ भने कर लगायतका सम्पूर्ण खर्चहरु जोडिसकेपछि हुने लागत मूल्यमा पनि मार्जिन राखेर बिक्री मूल्य तोकिन्छ। यसले गर्दा डलर महँगिनुको प्रभाव अब इभीको मूल्यमा पनि सोझै पर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस !