धनगढी–दिपायल फास्ट ट्रयाकको काम बजेट अभावका कारण प्रभावित भएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीलाई साविकको क्षेत्रीय सदरमुकाम डोटीको दिपायल जोड्ने सो सडकलाई रणनीतिक महत्वको मानिन्छ ।कैलाली र डोटीका विभिन्न खण्डमा छुट्टाछुट्टै बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको थियो । सरकारले यस वर्ष बजेट नदिँदा सडक योजना कार्यालयले ठेकेदार कम्पनीहरूलाई पुरानै कामको भुक्तानी गर्न सकेको छैन ।

करिब ७८ करोड रुपैयाँ दायित्व भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख लक्ष्मण रावलले जानकारी दिए । भुक्तानी नपाएपछि ठेकेदार कम्पनीहरूले सडक निर्माणमा लगाएका सबै उपकरण र कामदार फिर्ता लगेको उनको भनाइ छ ।

‘पुरानै कामको भुक्तानी दिन सकिएको छैन । भुक्तानी नपाउँदा निर्माण कम्पनीले काम पूर्ण रूपमा रोकेका छन्,’ उनले भने, ‘भुक्तानी रोकिएकाले हामीले उनीहरूलाई काम अगाडि बढाऊ भन्न सक्ने अवस्था पनि छैन ।’

यो योजनाका लागि चालू आर्थिक वर्षमा पुँजीगततर्फ बजेट नै नआएको उनले जानकारी दिए । कर्मचारीको तलब–सुविधाका लागि भने चालूतर्फ संघ सरकारले ८५ लाख बजेट पठाएको छ ।

भएको कामको भुक्तानी लामो समय रोकिएपछि ठेकेदार कम्पनीहरूले ब्याजसमेत दाबी गरेका छन् । रोकिएको अवधिको ब्याज दाबी गर्दै निवेदन परेको योजना कार्यालयले जनाएको छ । पूरा भएको कामको दाबी गरेको रकम एक महिनाभित्र भुक्तानी नदिए निर्माण कम्पनीले ब्याज दाबी गर्न सक्ने व्यवस्था रहेको रावलले बताए ।

यो सडकको कैलाली–डोटी खण्डअन्तर्गत धनगढीदेखि स्याउलेसम्म १३ किलोमिटर कालोपत्रेका लागि आर्थिक वर्ष ०७७-७८ मा ठेक्का सम्झौता भएको थियो । रोकिएको दुई करोड भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसकिने निर्माण कम्पनी खड्का–कृष्ण–नारायणका प्रतिनिधि सचिन थापाले बताए । उनले रकम पाए आगामी जेठसम्म कालोपत्रे सक्ने लक्ष्य रहेको उल्लेख गरे ।

कैलालीमा खुटिया खोलादेखि हाटखोलीसम्मको थप साढे ६ किलोमिटर कालोपत्रेका लागि गत असारमा ठेक्का सम्झौता भएको थियो । सडकको कालिका–बेदान्सी जेभीले ठेक्का पाएको छ ।

भदौ महिनामा काम गरेको साढे दुई करोड रुपैयाँ भुक्तानी नपाएपछि काम रोकिएको कम्पनीका प्रतिनिधि प्रकाश खरेलले बताए । ‘१६ करोडको ठेक्का हो । साढे दुई करोडको काम गर्दा पनि पैसा नपाएपछि कसरी काम गर्न सकिन्छ ?’ उनले भने ।

दिपायलदेखि बझाङको थलारा जोड्ने नौ किलोमिटर कालोपत्रेका लागि आर्थिक वर्ष ०७७-७८ र थप १५ किलोमिटर कालोपत्रेका लागि गत वर्ष सम्झौता भएको आयोजना प्रमुख रावलले जानकारी दिए ।

सुरुको वर्ष भएको ठेक्कामा बाटोको ग्राभेल गर्ने कार्य पूरा भएको उनले बताए । त्यसमध्ये दुवैतिर गरी करिब साढे २२ किलोमिटर यसै वर्ष कालोपत्र गर्ने लक्ष्य थियो ।
सडकका लागि पटक–पटक बजेट माग गरिए पनि केन्द्रबाट कुनै जवाफ नआएको आयोजना प्रमुख रावलले बताए । ‘सडक विभागसँग बजेट पठाउन बारम्बार आग्रह गरेका छौँ । निर्माण कम्पनीहरूले पनि आफ्नै ढंगले पहल गरिरहेका छन्,’ उनले भने, ‘बजेट आउने–नआउनेबारे केन्द्रबाट अहिलेसम्म जानकारी भने पाएका छैनौँ ।’

छोटो दूरीको मार्ग
योजनाअन्तर्गत धनगढी–दिपायलको लम्बाइ ९६ किलोमिटर छ । जुन धनगढी–दिपायल जोड्ने भीमदत्त राजमार्गभन्दा आधा दूरी कम हो । विगतमा यसलाई धनगढी–दिपायल फास्ट ट्रयाक नाम दिएर निर्माण थालिएको थियो ।

पछि बझाङसम्म जोडेर यसलाई धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक नाम दिइएको हो । यसको लम्बाइ १९६ किलोमिटर छ । यो सडक बझाङको थलारामा सेती लोकमार्गमा जोडिनेछ । निर्माणाधीन सेती लोकमार्गले थलारा हुँदै उरै भन्ज्याङ जोड्नेछ । उरै भन्ज्याङ चीनको तिब्बत जोड्ने नाका हो ।

दिपायलदेखि थलारासम्मको ट्र्याक खोल्ने पूरा भइसकेको छ । धनगढी–दिपायल खण्डमा काम सुरु भएको करिब दशकपछि ट्र्याक खोल्ने काम पनि हालै पूरा भएको छ । यद्यपि, यो खण्डको कतिपय ठाउँमा ट्र्याक खोल्ने काम राम्ररी भएको छैन ।

रूख कटान आदेश नपाउँदा कैलालीको चुरे पहाडमा तीन किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम लामो समय रोकिएको थियो । दर्जनौँ विकट ग्रामीण बस्तीलाई जोड्ने यो सडक कैलालीमा ४५ किलोमिटर, डोटीमा ५१ र बझाङमा ९० किलोमिटर पर्छ ।

 

प्रतिक्रिया दिनुहोस !