समानुपातिक निर्वाचनतर्फ ४३ वटा राजनीतिक दल बाहिर रहने भएका छन्। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर २१, २२ र २३ मा तोकिएको समयमा उनीहरूले समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नदिएपछि उनीहरू समानुपातिक प्रतिस्पर्धाबाट बाहिरिने भएका हुन्। निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका १४३ दलमध्ये एक सय दलले मात्र समानुपातिक तर्फ प्रतिस्पर्धाका लागि निवेदन दिएका छन्। प्राप्त निवेदनहरूको अध्ययन गरी आयोगले मंसिर २६ गतेसम्म स्वीकृत गर्नेछ। आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दर्ता गरिनेछ भने प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ। दाबी–विरोध तथा उजुरीको छानबिनपछि माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ। प्रतिनिधिसभामा २७५ सदस्यमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट चयन गरिने व्यवस्था रहेको छ। प्रत्यक्षतर्फका उम्मेदवारका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।










