आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोग नेपालले दिएको जिम्मेवारीअनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र सोमबार साँझसम्म छपाइ सकिएको हो। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइकार्य ४० दिनमै सम्पन्न गरिएको केन्द्रले जनाएको छ। आजदेखि सबै मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेशमा ढुवानी सुरु गरिनेछ र १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने लक्ष्य रहेको छ।

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो भने यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ। साथै समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम पनि जारी रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि निर्धारित समयभित्र पुर्‍याउने गरी काम भइरहेको जानकारी केन्द्रले दिएको छ।

प्रतिक्रिया दिनुहोस !