सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सञ्चालनमा आएको छ । टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएका भोटखोला क्षेत्रका स्थानीयवासी लाभान्वित भएका छन् ।
नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार दुर्गम र हिमाली क्षेत्रका लागि फोरजी सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि हो । यसले स्थानीयको दैनन्दिन जीवन, शिक्षा, स्वास्थ्य तथा आपतकालीन सञ्चारमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोलीले भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरेको हो । दुर्गम भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ ।
यसैबीच, भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।










