काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव सेतो मच्छिन्द्रनाथ जात्रा को तयारी यतिबेला तीव्र रूपमा भइरहेको छ। यस वर्षको जात्रालाई लक्षित गर्दै तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य धमाधम भइरहेको छ, जहाँ बिहानदेखि बेलुकासम्म स्थानीयवासी तथा कारीगरहरू खटिएका छन्।

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना हुने यस जात्राका लागि आवश्यक पर्ने परम्परागत रथ निर्माण अहिले अन्तिम चरणतर्फ पुगेको छ। जात्राको मुख्य आकर्षणका रूपमा रहने सेतो मच्छिन्द्रनाथ (जनबहाल लोकेश्वर) को मूर्ति केलटोलस्थित मच्छिन्द्र बहाल बाट विधिपूर्वक बाहिर निकालिन्छ।त्यसपछि केलटोल, इन्द्रचोक, बाङ्गेमुढा, असन र कमलाक्षी हुँदै पुनः तीनधारा पाठशालामा ल्याएर रथमा विराजमान गराइन्छ। यस प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक रूपमा रथयात्रा सुरु हुने परम्परा रहिआएको छ।

परम्पराअनुसार पहिलो दिन रथ जमलबाट असनसम्म तानिन्छ भने दोस्रो दिन असनदेखि हनुमानढोकासम्म पुर्‍याइन्छ। तेस्रो दिन रथलाई लगनसम्म लगिने प्रचलन छ। यसरी विभिन्न टोल हुँदै अघि बढ्ने रथयात्राले काठमाडौंको पुरानो बस्ती क्षेत्रमा धार्मिक तथा सांस्कृतिक उत्साह थप्ने गर्दछ।रथ निर्माण कार्यका प्रमुख कारीगर पूर्णमान महर्जन का अनुसार यो केवल प्राविधिक काम नभई गहिरो धार्मिक आस्थासँग जोडिएको सेवा हो। विगत ३७ वर्षदेखि यस कार्यमा संलग्न उनी सानैदेखि रथ निर्माणमा लागेका हुन्। उनले यो सीप आफ्ना बुवाबाट सिकेको उल्लेख गर्दै भगवानको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताएका छन्।रथ निर्माणमा परम्परागत सामग्री—काठ र सुक्खा वेथ—प्रयोग गरिन्छ। वेथलाई पानीमा भिजाएर बलियो डोरी बनाइन्छ, जसले रथको संरचना मजबुत बनाउँछ। यी सम्पूर्ण कार्य अनुभव र सीपमा आधारित हुने भएकाले परम्परागत ज्ञानको निरन्तरता पनि सुनिश्चित हुन्छ।यस कार्यमा स्थानीयवासीहरूको सक्रिय सहभागिता देखिएको छ। धेरैले श्रमदान र सहयोगमार्फत योगदान दिँदै आएका छन्, जसले जात्रालाई धार्मिक कार्यक्रम मात्र नभई सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित गरेको छ।

रथ निर्माणमा गुठी संस्थान को समेत सहयोग रहेको छ, जसले यस्ता परम्परागत गतिविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस वर्षको सेतो मच्छिन्द्रनाथ जात्रा चैत १२ गतेदेखि सुरु हुने जनाइएको छ। यो जात्रा नेपालका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वमध्ये एक हो, जसले परम्परा, सीप र सामुदायिक सहकार्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमका रूपमा निरन्तरता पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस !