नेपाल उद्योग वाणिज्य महासङ्घ को आसन्न निर्वाचनका लागि सागर ढकाल ले वस्तुगत तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसन का अध्यक्ष समेत रहेका ढकाललाई एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको र करिब ५० खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको उल्लेख गर्दै पुँजी बजारलाई समग्र अर्थतन्त्रको ऐनाको रूपमा सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । विगत करिब दुई वर्षदेखि पुँजी बजारमा सक्रिय ढकाल जलविद्युत, होटल तथा पर्यटन, कृषि लगायतका क्षेत्रमा समेत संलग्न छन् । उनले महासङ्घको केन्द्रीय कार्यसमितिमा पुगेर उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङ गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, वर्तमान अवस्थामा पुँजी बजार र उद्योग व्यवसाय क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै आगामी सरकारले ती समस्या समाधान गर्ने अपेक्षासहित आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।










