कर्णाली प्रदेश सरकार ले सात वटा स्थानीय तहमा सञ्चालन हुने नवप्रवर्तन साझेदारी कोष कार्यक्रमका लागि ३ करोड ४० लाख रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै डिजिटल प्रविधि, सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य र उद्यम विकासका क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्य राखिएको जनाएको छ। प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह का अनुसार छनोट भएका परियोजनाहरू स्थानीय आवश्यकता र प्रविधिमैत्री सेवा विस्तारमा केन्द्रित छन्। कार्यक्रमअन्तर्गत रुकुमपश्चिमको सानीभेरी नगरपालिका, सल्यानको शारदा गाउँपालिका, रुकुमपश्चिमकै चौरजहारी नगरपालिका, दैलेखको नारायण नगरपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र कालीकोटको रास्कोट नगरपालिकामा विभिन्न डिजिटल तथा विकास परियोजनाका लागि बजेट विनियोजन गरिएको छ। यी परियोजनामार्फत स्थानीय तहमा प्रविधिको प्रयोग विस्तार गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र पहुँचयोग्य बनाउने तथा स्थानीय आर्थिक गतिविधि सुदृढ गर्दै रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको जानकारी पनि दिइएको छ।










