नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्षसमेत हुन् र वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन्।

उम्मेदवारी घोषणा गर्दै ढकालले महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार वस्तुगत संघहरू अहिले विभिन्न कानुनी र व्यवहारिक समस्याबाट प्रभावित छन्, जसको समाधानका लागि सरकारसँग नीतिगत बहस र लबिङ आवश्यक छ।उनले नेपालको पुँजी बजारलाई अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। हाल करिब ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको र करिब ५० खर्ब रुपैयाँको मार्केट क्याप रहेको पुँजी बजारलाई अझ सशक्त बनाउने योजना उनले प्रस्तुत गरेका छन्।ढकालले धितोपत्र ऐन २०६३ तथा सम्बन्धित नियमावलीहरूलाई समयानुकूल परिमार्जन गर्न पहल गर्ने बताएका छन्। साथै मार्जिन ट्रेडिङ, इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग सहकार्य गर्ने उल्लेख गरेका छन्।

यसका अतिरिक्त, कमोडिटिज, विदेशी मुद्रा तथा बुलियन एक्सचेन्ज स्थापना, एसएमई प्लेटफर्म र ओटीसी बजारको प्रभावकारी कार्यान्वयन, तथा गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई नेपाली पुँजी बजारमा आकर्षित गर्न स्पष्ट नीति निर्माणमा जोड दिने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !