स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ।

एशोसिएशनका महासचिव भक्तिराम घिमिरे द्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकर सक्रिय रहेको उल्लेख गर्दै नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो अपेक्षा गरिएको जनाइएको छ।धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पूँजीबजारको दिगो विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने एशोसिएशनको विश्वास छ।मागपत्रमा पूँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वयन हुन नसकेका सुझावहरूलाई तत्काल लागू गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ।त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश तथा बहिर्गमनको व्यवस्था मिलाउन, शेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने प्रावधान हटाउन तथा गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा कारोबार गर्न पाउने वातावरण बनाउन माग गरिएको छ।कर तथा प्राविधिक पक्षमा आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा स्पष्ट पार्न र सरकारी संस्थानका विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने एशोसिएशनको माग छ।

साथै, शेयर बिक्री भएर पनि हस्तान्तरण नहुँदा लगानीकर्ता ‘क्लोज आउट’को समस्यामा परिरहेको भन्दै ‘अक्सन मार्केट’ सञ्चालन गर्न र सेटलमेन्ट ग्यारेन्टी फण्डलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन आवश्यक निर्देशन दिन अर्थमन्त्रीसँग आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस !