ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेको छ।
केन्द्रका अनुसार यो अभियान केवल धार्मिक अभ्यासमा सीमित नहुने, बरु राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास हुनेछ। अभियानको मूल लक्ष्य धर्मलाई कर्मकाण्डबाट मुक्त गर्दै जीवन, समाज र राज्य सञ्चालनको आधार बनाउनु हो।
यसअघि केन्द्रले देशका विभिन्न स्थानमा शक्तिपीठ स्थापना गर्दै आध्यात्मिक ऊर्जा सन्तुलनको आधार तयार गरिसकेको जनाएको छ। हालसम्म कुशेश्वर, पालुङ, विजयपुर, भकुण्डेबेशी र राम्चेवेशीमा विभिन्न शक्तिपीठ स्थापना भइसकेका छन्। अब गोरखामा “राजविद्या शक्तिपीठ” निर्माण भइरहेको छ, जसलाई सबै ऊर्जा एकीकृत गर्ने केन्द्रबिन्दु बनाउने योजना रहेको छ।
अनन्त प्रसाद का अनुसार गोरखा नगरपालिका–९ शिखरडाँडामा निर्माणाधीन शक्तिपीठको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ। यो पीठलाई दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्ति बीच सन्तुलन कायम गर्ने केन्द्रका रूपमा विकास गरिने बताइएको छ।
शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्मनीतिलाई प्रभावकारी बनाउन “दैविक ऊर्जा” अनिवार्य रहेको उल्लेख गरेका छन्। उनका अनुसार आध्यात्मिक ऊर्जा र राज्य शक्ति बीच समन्वय बिना स्थायी शान्ति र समृद्धि सम्भव हुँदैन।
शक्तिपीठ निर्माणपछि यहाँ गोरक्षनाथ बाबा तथा गोरखकाली लगायत विभिन्न देवी–देवताहरूको मूर्ति स्थापना गरिनेछ, जसले यस स्थानलाई साधना र आध्यात्मिक अनुभूतिको केन्द्र बनाउने अपेक्षा गरिएको छ।
नमुना गुरुकुल निर्माणको योजना
राजशक्ति पीठ निर्माणपछि “नमुना गुरुकुल” स्थापना गरिने योजना पनि अघि सारिएको छ। यस गुरुकुलमा वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वमा आधारित समग्र शिक्षा प्रदान गरिनेछ। लक्ष्य चरित्रवान्, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक उत्पादन गर्नु रहेको केन्द्रले जनाएको छ।
गोरखालाई विश्व आध्यात्मिक केन्द्र बनाउने दीर्घकालीन लक्ष्य
केन्द्रले गोरखालाई पुनः विश्वस्तरको आध्यात्मिक तथा योग केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएको छ। ऐतिहासिक रूपमा गुरु गोरखनाथ सँग जोडिएको यस भूमिलाई अन्तर्राष्ट्रिय साधना, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
यस अभियानमार्फत धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा संस्कृत भाषा र गुरुकुल शिक्षा प्रणालीको पुनर्जीवनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। केन्द्रका अनुसार यो पहल केवल भौतिक संरचना निर्माणमा सीमित नभई चेतना, संस्कार र मूल्यमा आधारित समाज निर्माणतर्फ उन्मुख हुनेछ।
अभियानमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाहरूले केन्द्रसँग सम्पर्क गर्न सक्ने जानकारी पनि दिइएको छ।










