बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा सञ्चालन गरेको हो । लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका पाण्डवखानीवासी पहिलोपटक केन्द्रीय विद्युत् पुगेपछि हर्षित भएका छन् । भौगोलिक विकटतासँगै लघुजलविद्युत् मर्मतसम्भारमा पटकपटक हुने समस्याले लामो समयदेखि हैरानी खेप्नु परेको अवस्थामा केन्द्रीय विद्युत् सेवा सञ्चालन भएपछि सहज भएको स्थानीय व्यवसायी देवनारायण श्रीसले बताउनुभयो । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत पाण्डवखानीमा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो । विकट अनि दूरदराजका जनतालाई विद्युत् सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत् प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उहाँको भनाइ छ । आवश्यकताअनुरूप ट्रान्सफर्मर, पोलसँगै अन्य विद्युतीय सामग्री व्यवस्थापन गरिने बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गौतमले जानकारी दिनुभयो । केन्द्रीय विद्युत्को पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक समृद्धिमा जोड्न सहज हुने गलकोट नगरपालिका–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताउनुभयो । आमा समूहको आयस्रोत आलुखेती गलकोट–७ मल्मको मूलपानी आमा समूहले यो वर्ष जोडेको सम्पत्ति चार मुरी आलु हो । कात्तिकमा लगाएको १० पाथी आलुले चार मुरी फसल दिएपछि समूहमा आबद्ध सबै आमाहरु खुशी छन् । घरखर्च टार्नकै लागि हरेक वर्ष आफ्नो खेतबारीमा आलु खेती गर्दै आएका समूहका सदस्यहरुले यो वर्ष समूहमा खेती गरे । समूहको सक्रियतामा लगाइएको आलु राम्रो फलेपछि आम्दानी बढ्ने पक्का छ । स्थानीय सरकारले महिला सशक्तीकरणका छुट्याएको बजेट सदुपयोग गर्दा यहाँका महिलाहरुले आलुको राम्रो फसल लिएका हुन् । मल्ममा १४ वटा समूहले १० पाथीका दरले आलु लगाएका छन् । विगतमा महिलाका लागि भनेर छुट्याइएको बजेट गोष्ठी र बैठकहरुमा सकिन्थ्यो ।

हरेक वर्ष बजेट पाउँदा पनि महिलाको आर्थिक अवस्था उस्तै रहेपछि यस वर्ष महिला समूहले नयाँ प्रयास थालेका हुन् । वडाले महिलाका लागि छुट्याएको रु ७५ हजार बजेटले ताराखोलाको आलुको बीउ महिला जागरण केन्द्र मल्मले ल्याएर बाँडेको हो । सबै समूहले लगाएको आलु चारदेखि छ मुरीसम्म फलेको छ । “पहिले देखिने गरी केही हुने थिएन, यसपटक आलु लगाएको राम्रो आम्दानी हुने देखेका छौँ”, मिलिजुली आमा समूहका अध्यक्ष टीका सहानीले भन्नुभयो, “अहिले सबै बेचेर पैसा राख्छौँ, अर्को वर्ष त्यही पैसाले धेरै बीउ किनेर समूहमा लगाउँछौँ ।” समूहकै सदस्यका बाँझो रहने जमीनमा उनीहरुले खेती गरेका थिए । अहिले बीउ पूँजी जम्मा गरेर अर्को वर्ष व्यावसायिक उत्पादन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । “अभिमुखीकरण भनेर सकेको भए पनि थोरै पैसा यसै जान्थ्यो तर हामीले आम्दानीका लागि बीउ खोज्यौँ”, महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले भन्नुभयो, “यो सामूहिक आम्दानीको शुरुआत हो, अहिले फलेको आलुको मूल्य सबै बीउमा लगाउँदा अर्को वर्षदेखि समूह आर्थिकरूपमा सबल हुन्छ ।” समूहमा जम्मा हुने रकम ऋणधन गर्ने भएकाले महिलाको दैनिकी चलाउन सहज हुने थापाले बताउनुभयो । ताराखोलाको आलु स्वादिलो हुने भएकाले बजारमा राम्रो माग छ । मल्मका केही आमा समूहले उत्पादित आलुलाई एक पाथीको रु २०० का दरले बिक्रीसमेत गरेका छन् । “अर्को वर्षको बजेट पनि आम्दानी हुने क्षेत्रमै खर्च गर्छौँ”, थापाले भन्नुभयो, “महिलाहरुले सामूहिकतामा विश्वास गरेर आम्दानी बढाउनु छ ।” मल्मका महिलाले थालेको आम्दानीसँग जोडिने अभियान अन्य क्षेत्रका महिलाका लागि सिकाइ हुने महिला जागरण केन्द्र मल्मका उपाध्यक्ष थुमकली थापाले बताउनुभयो । वडा कार्यालयले लक्षित वर्गका लागि छुट्याएको रु दुई लाख ५० हजार बजेटमध्ये महिला र दलितका लागि ३०÷३० प्रतिशत र जनजाति तथा अपाङ्गता भएकाहरुका लागि २०÷२० प्रतिशतका दरले बाँडफाँट गरेका थिए । जनजातिका लागि छुट्याइएको रकमले च्याउ खेती तालीम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !