अमेरिकामा थ्याङ्क्सगिभिङ पर्वका बेला आएको शक्तिशाली आँधी र भारी वर्षाले लाखौँ मानिसको जनजीवन प्रभावित भएको छ। मध्यपश्चिम र उत्तरपूर्वी क्षेत्रमा तीव्र हावाहुरी, मुसलधारे वर्षा र बाढीका कारण सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै ठूलो संख्यामा घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ।

नोभेम्बर २६ मा आएको आँधीले विशेषगरी अमेरिकाको पूर्वी तटीय क्षेत्र र मध्यपश्चिममा बढी क्षति पुर्‍याएको छ। आँधीका कारण करिब ९ लाख ८ हजार घर तथा व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको थियो। पेन्सिल्भेनिया, न्युजर्सी, मेरिल्यान्ड र भर्जिनिया बढी प्रभावित भएका छन्। पेन्सिल्भेनियामा मात्रै दुई लाखभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए।खराब मौसमका कारण हवाई यातायातसमेत प्रभावित भएको छ। फ्लाइटअवेयरका अनुसार बिहीबार अमेरिकाभित्र तथा अमेरिका आउने–जाने गरी ४५४ उडान रद्द भएका थिए भने २ हजार ४११ उडान ढिला भएका थिए। वासिङ्टन र न्युयोर्क क्षेत्रका प्रमुख विमानस्थलमा बढी असर परेको थियो।अमेरिकी मौसम सेवाका अनुसार केही क्षेत्रमा हावाको गति प्रतिघण्टा ११२ किलोमिटरसम्म पुगेको थियो। तीव्र हावाका कारण रुख ढल्नुका साथै विद्युत्का तारमा क्षति पुगेको थियो। न्युयोर्कको लागार्डिया विमानस्थलमा समेत हावाको गति प्रतिघण्टा ९० किलोमिटर पुगेको थियो।भारी वर्षा र समुद्रको उच्च ज्वारका कारण पूर्वी तटीय क्षेत्रमा बाढीको समस्या देखिएको छ। न्युयोर्क सहरमा थ्याङ्क्सगिभिङकै दिन डेढदेखि दुई इन्चसम्म वर्षा भएको थियो भने केही स्थानमा तीन इन्चसम्म पानी परेको थियो। स्टेटन आइल्यान्ड र लङ आइल्यान्डका तटीय क्षेत्रमा बाढी पस्दा सडकमा सवारीसाधन फसेका थिए। उद्धारकर्मीले केही चालकको उद्धार गरेका थिए।

न्युजर्सीका तटीय सहरहरू पनि बाढीबाट प्रभावित भएका छन्। एभालोन क्षेत्रमा इतिहासकै खराब बाढीमध्ये एक देखिएको स्थानीय अधिकारीहरूले बताएका छन्। समुद्रको पानी सडकमा पसेपछि केही राजमार्ग बन्द गर्नुपरेको थियो। त्यस्तै, भर्जिनियाको चेसापिक बे ब्रिज–टनेल तीव्र हावाका कारण केही घण्टा बन्द गरिएको थियो।खराब मौसमले सांस्कृतिक कार्यक्रमसमेत प्रभावित पारेको छ। न्युयोर्कमा हरेक वर्ष आयोजना हुने प्रसिद्ध ‘मेसिज थ्याङ्क्सगिभिङ डे परेड’ बिहीबारबाट शनिबारका लागि सारिएको छ। तीव्र हावाका कारण परेडमा प्रयोग हुने विशाल बेलुन उडाउन जोखिम हुने भएपछि आयोजकले कार्यक्रम स्थगित गरेका हुन्।यसैबीच, थ्याङ्क्सगिभिङ बिदाका अवसरमा अमेरिकामा ठूलो संख्यामा मानिस यात्रा गरिरहेका छन्। अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार नोभेम्बर २४ देखि ३० सम्म कम्तीमा ५० माइल अर्थात् करिब ८० किलोमिटर यात्रा गर्ने अमेरिकीको संख्या ८ करोड १५ लाख पुग्ने अनुमान छ। तीमध्ये ७ करोड २९ लाखले निजी सवारीसाधन र करिब ५९ लाख ६० हजारले आन्तरिक हवाई यात्रा गर्ने अनुमान गरिएको छ।यात्रुको चाप उच्च हुने समयमा खराब मौसमले यात्रा थप कठिन बनाएको छ। अमेरिकी संघीय उड्डयन प्रशासनले वर्षा र तीव्र हावाका कारण बिदाको अवधिभर उडानमा ढिलाइ हुन सक्ने चेतावनी दिएको थियो।थ्याङ्क्सगिभिङ अमेरिकाको प्रमुख राष्ट्रिय पर्वमध्ये एक हो। हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाइने यस पर्वमा परिवार तथा आफन्त भेला भएर सामूहिक भोजन गर्ने र जीवनमा प्राप्त सुख, उपलब्धि तथा राम्रो बालीप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा छ। यस अवसरमा टर्कीको परिकारसहित विशेष भोज गर्ने चलन छ।तर यस वर्षको पर्वमा आँधी र बाढीका कारण धेरै परिवार प्रभावित भएका छन्। कतिपयले पर्व मनाउनुको सट्टा बाढी पसेका घर सफा गर्न र क्षतिग्रस्त संरचनाको व्यवस्थापनमा समय बिताउनुपरेको छ।

मौसम सेवाका अनुसार पूर्वी तटीय क्षेत्रमा बिहीबार रातिदेखि मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ। यद्यपि शुक्रबार पनि केही क्षेत्रमा तीव्र हावा र वर्षाको प्रभाव रहन सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस !