नेपालगञ्ज उपमहानगरपालिका–७ का १०० किशोरी तथा महिलालाई फ्रिडम किट ब्याग वितरण गरिएको छ। एफकेबी यूकेको सहयोगमा बास नेपालले बादी, मुस्लिम, मधेशीलगायत समुदायका सीमान्तकृत महिलालाई उक्त किट ब्याग वितरण गरेको हो।
महिनावारीका बेला प्रयोग गर्न मिल्ने पुनः प्रयोगयोग्य कपडाका प्याड तथा आवश्यक स्वास्थ्य सामग्री समावेश गरिएको किट ब्याग वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले महिलाको स्वास्थ्य र सरसफाइका लागि यस्तो सहयोग महत्वपूर्ण रहेको बताए। उनले स्थानीय तहले प्रत्येक वर्ष सेनेटरी प्याड वितरणमा ठूलो रकम खर्च गरिरहेको उल्लेख गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने गुणस्तरीय कपडाका प्याड वितरणका लागि सबै पालिकासँग छलफल गर्ने बताए।नेपालगञ्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बादी समुदाय तथा पछाडि पारिएका महिलाको उत्थानका लागि फ्रिडम किट ब्याग वितरण सकारात्मक पहल भएको बताए। पुनः प्रयोग गर्न मिल्ने प्याडले महिलाको स्वास्थ्यमा सहयोग पुर्याउने उनको भनाइ थियो।बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए। कार्यक्रममा वडा सदस्यहरू नुर अहमद र कल्पना नेपाली, बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकाय र बब्लु शेषलगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन अधिकृत रविन्द्र बोहराले गरेका थिए।कार्यक्रममा प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मीना घर्ती मगरले महिनावारी स्वास्थ्य तथा स्वच्छतासम्बन्धी प्रशिक्षण दिएका थिए। किट ब्याग प्राप्त गरेपछि सहभागी महिलाहरूले खुसी व्यक्त गर्दै पुनः प्रयोग गर्न मिल्ने प्याड महिनावारी स्वच्छताका लागि उपयोगी हुने बताएका थिए।
के हो फ्रिडम किट ब्याग?
फ्रिडम किट ब्यागमा महिनावारीका बेला आवश्यक पर्ने तीनवटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड इन्सर्ट, आठवटा क्लिप, डोरी, वाटरप्रुफ पर्स, पेन्टी र साबुनलगायत सामग्री हुन्छन्। आयोजकका अनुसार यसको प्रयोग करिब तीन वर्षसम्म गर्न सकिन्छ।
बजारमा पाइने एकपटक प्रयोग गरेर फालिने सेनेटरी प्याडको तुलनामा यो किट वातावरणमैत्री र पुनः प्रयोग गर्न मिल्ने विकल्प हो। विशेषगरी सेनेटरी प्याड खरिद गर्न आर्थिक तथा भौगोलिक कठिनाइ भोगिरहेका ग्रामीण र सीमान्तकृत समुदायका महिलाका लागि यो उपयोगी हुने आयोजकको भनाइ छ। यसको बजार मूल्य करिब एक हजार ५०० रुपैयाँ रहेको छ।










