काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसरमा जमिन पुनःभरण गर्ने उद्देश्यसहित ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गरेको छ। सोमबार राष्ट्रिय सभा गृह परिसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको शुभारम्भ गरेका हुन्।

अभियान उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्वपूर्ण रहेको बताए। रैथाने वनस्पति, जीवजन्तु, चराचुरुङ्गी, नदी किनाराको हरियाली तथा हिटी र राजकुलो प्रणालीको संरक्षण र विकासका लागि जमिन पुनःभरण दिगो उपाय हुने उनको भनाइ थियो। संघ र प्रदेश सरकारले स्रोत उपलब्ध गराउने तथा महानगरले प्राविधिक सहयोगमार्फत प्रणाली विकास गर्न सके प्रभावकारी नतिजा हासिल गर्न सकिने उनले बताए।

मुख्यमन्त्री थापाले महानगरपालिकाले सुरु गरेको अभियानले देशभर जलवायु अनुकूलन तथा पानी पुनःभरणको कार्यक्रम विस्तार गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पानीको अभाव बढ्दै गएकाले छलफलमा मात्र सीमित नभई व्यवहारमै जमिन पुनःभरणको काम सुरु गर्नुपर्ने बताइन्। उनले महानगरपालिका, वडा कार्यालय तथा विद्यालयहरूमा पनि रिचार्ज प्रणाली निर्माण गरिने जानकारी दिइन्। सरकारी कार्यालयहरूले स्थान उपलब्ध गराए महानगरपालिकाले नै प्रणाली निर्माण गरिदिने उनको भनाइ थियो।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको उनले जानकारी दिए। योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज प्रणाली निर्माण गरिनेछ।

राईका अनुसार प्रत्येक रिचार्ज पिट निर्माण गर्न २० फिट गहिरो र २ फिट ६ इन्चदेखि ४ फिटसम्म व्यास भएको खाल्डो खनिनेछ। खाल्डोको तल्लो नौ फिट भागमा ढुङ्गा, त्यस माथि सात फिटमा २० देखि ४० एमएमका गिट्टी र एक फिटमा बालुवा राखिनेछ। पानी छान्न जिओटेक्सटाइल कपडा राखेर माथिल्लो तीन फिट भाग खाली छाडिने र अन्त्यमा कभर लगाइनेछ।

महानगरपालिकाले यस योजनाअन्तर्गत २ फिट ६ इन्च, ३ फिट र ४ फिट व्यासका ४६/४६ वटा गरी कुल १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस !