
रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आउनुभएको छ । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एक घण्टाका समयमा थ्रेसर मेसिनबाट करिब ५० मुरी धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा भयो, कम लागत र छोटो समयमा खेती स्याहार्ने नयाँ प्रविधि गाउँमा आएपछि कृषकलाई धेरै राहत भएको छ ।” उहाँले एक घण्टाको रु तीन हजार ५०० शुल्क तिरेर धान स्याहार्नुभएको छ । कामदार खटाएर धान स्याहार्नु पर्दा समय र लागत पनि धेरै लाग्ने हुँदा थ्रेसर मेसिनबाट नै फाइदा हुने उहाँ बताउनुहुन्छ । “थ्रेसरबाट धान स्याहार्न थालेपछि बस्तुभाउमा पनि जुकामाटे रोग कम देखा परेको छ, परालको पानीको सतहमा डुबेको भागमा जुकाका फूल बस्ने हुँदा गाईभैँसीमा जुकामाटेको रोग देखापर्ने हुन्थ्यो, थ्रेसर लगाएपछि यस्तो समस्या कम भएको छ”, उहाँ भन्नुहुन्छ ।
धान छिटो झर्ने, कम लागतमा धेरै काम हुने, कामदारको अभावमा सहज हुने हुँदा पनि पछिल्लो समय कृषकले प्रविधिको प्रयोग गरेर खेती लगाउने र स्याहार्ने गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे बताउनुुहुन्छ । उहाँका अनुसार नगरपालिकाले कृषकको मागअनुसार र विभिन्न पकेट तथा ब्लक कार्यक्रममा थ्रेसर मेसिन विभिन्न पनि सहयोग गरेको छ । “गाउँ गाउँमा धान झाट्ने यन्त्रको प्रयोग बढ्दो छ, कृषक पनि परम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक प्रणालीतर्फ अगाडि बढ्दै गएका छन्, यसले गर्दा पनि कृषक नयाँ नयाँ कृषि यन्त्रको प्रयोगमा अग्रसर हुँदै गएका छन्”, उहाँ भन्नुहुन्छ । हालसम्म करिब १५ थ्रेसर मेसिन प्रयोगमा आएका छन् । दुई दिनसम्म लाग्ने काम एक घण्टामा सकिने भएपछि धान झाट्न कामदार लगाउनै छाडिएको बलबहादुर राना बताउनुुहुन्छ । “एक जना कामदारलाई धान झाट्न दिउँसोको काम लगाउँदा रु एक हजार ज्याला दिनुपर्छ, समय पनि धेरै लाग्ने, खर्च पनि धेरै हुँदोरहेछ, हिजोआज थ्रेसर मेसिन ले दुई तीन दिन लाग्ने काम एक घण्टामै सिध्याउँछ” उहाँ भन्नुहुन्छ । भनेको समयमा धान झाट्ने कामदार नपाउँदा पनि कृषकले निकै सास्ती खेप्नुपथ्र्यो । मेसिनप्रति कृषकको आकर्षण निकै रहेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुुहुन्छ । जिल्लाका विभिन्न गाउँ गाउँमा थ्रेसरको प्रयोग हुन थालेपछि कृषकको आकर्षण बढ्दै गएको छ । कम लागत र मेहनतमा छिटो र छरितो धान स्याहार्न पाइने भएपछि यहाँका कृषक थ्रेसरमा आकर्षित भएका हुन् ।
जिल्लाको रामपुर, खानीछाँप, यम्घा, कसेनी, सिद्धेश्वर, खस्यौली, बौघापोखराथोक, रम्भा, अर्गली, दोभान, भुवनपोखरी, चिर्तुङ्गधारा, सत्यवती, माडीफाँटलगायतका स्थानमा थ्रेसर पुगेसँगै कृषकलाई धान स्याहार्न सजिलो भएको छ । जिल्लामा बढ्दो यान्त्रीकरणको विकास र प्रयोग हुँदै जाँदा भने काम गरेर खाने श्रमिक, मजदुर विस्थापित हुन पुगेका छन् । पछिल्ला वर्षामा ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक तथा मजदुरको आम्दानीको स्रोत नै गुम्दै गएको जनाइएको छ । परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्र्याक्टर, पावर टिलर, बीउ रोप्ने तथा धान काट्ने यन्त्र, गहुँ ठटाउने, धान झाट्ने यन्त्रको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन् ।