नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन ।

कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरु भएको छ । तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम सुरु भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने सुरु गरिएको छ । “मध्य हिउँद बितिसक्यो, अझै काम सुरु भएको छैन, हिउँदमा नदीको सतह घटेका समयमा काम हुँदैन, बर्खा लागेपछि काम सुरु हुन्छ”, बगरफाँटका जीतबहादुर कार्कीले बताउनुभयो । यसैगरी प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि अहिलेसम्म काम सुरु नभएको स्थानीयवासी कुमार केसीले जानकारी दिनुभयो ।

“हिउँद बित्नै लाग्यो, अहिलेसम्म बजेटको समेत व्यवस्थापन हुनसकेको छैन”, उहाँले भन्नुभयो । मसारमा नदी कटानबाट दुई घर भत्किएका र १५ परिवार विस्थापित थिए । दुई सय घर कटानको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो । यसैगरी बेनी–२ बगरफाँटमा पनि कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुनसकेको छैन । शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण बेनी –२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ । २०५७ सालदेखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिँदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् । जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्रगतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैँभरि रहिरहन्छ”, म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको उहाँको भनाइ छ । अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हन्छ । पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ । पहिराले गाउँ कुरूप बन्दै जान थालेको र शिरानका पाँच घर परिवारले आफ्नो घर नै छाडेर बसाइँ सरिसकेका स्थानीयवासी कृष्ण रिजालले बताउनुभयो । सिङ्गा तातोपानीको सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानका जोखिममा छ । तत्कालै नियन्त्रणको काम सुरु नगरे आउने बर्खामा सो नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको जनाइएको छ । सो विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !