काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ। आईक्यूएयरका अनुसार बुधबार बिहान ६ देखि ७ बजेसम्म काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको हो।
बुधबार बिहान ५ देखि ६ बजेसम्म १५८ एक्यूआईसहित विश्वका प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा रहेको काठमाडौँ एक घण्टामै पाँचौँ स्थानमा उक्लिएको हो। आईक्यूएयरको तथ्यांकअनुसार प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै, बंगलादेशको ढाका २०८ सहित दोस्रो, भारतको कोलकाता १९९ सहित तेस्रो र दिल्ली १८३ एक्यूआईसहित चौथो स्थानमा छन्।
एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ। वायु प्रदूषण बढेसँगै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।










