नेपाल उद्योग परिसंघको आयोजनामा आगामी भदौ २७ र २८ गते काठमाडौंमा पाँचौँ संस्करणको पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भन्ने उद्देश्यका साथ पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।

पूर्वाधारमा धेरै लगानी आवश्यक हुँदा पनि स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्दै सरकारलाई सुझाव उपलब्ध गराउने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए । पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबिच सम्मेलनमा गहन छलफल हुने उनले बताए ।

छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सम्मेलनमा सहभागिता रहने परिसंघका अध्यक्ष अग्रवालले जनाएका छन् ।

प्रधानमन्त्रीबाट उद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, सङ्घीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क, एसियाली विकास बैङ्क, विश्व बैङ्क, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूबाट प्रस्तुति हुने परिसंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !