लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित बनेको छ। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा जोखिमबीच एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा बीपी राजमार्गअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड बाढी तथा पहिरोका कारण प्रभावित भएको छ। रसुवाका मुख्य राजमार्गमा पनि बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।नुवाकोटको शिवपुरी–८ स्थित घट्टेखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड पहिरोको उच्च जोखिममा रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। त्यस्तै, विदुर–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।धादिङको बेनीघाट रोराङ–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी राजमार्ग पहिरोका कारण प्रभावित भए पनि दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।उता, कोशी प्रदेशको संखुवासभास्थित मकालु–४ को नेता भीरमा पहिरो खसेपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !