रसुवाका स्याफ्रुबेँसी, टिमुरेललगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएपछि सरकारले उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक संयन्त्रलाई सक्रिय बनाएको छ। प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम अघि बढाउन सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन्। उनका अनुसार जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको सुरक्षा र सम्भावित थप क्षति न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ।
सरकारले विशेषगरी रसुवा र नुवाकोटका नदी आसपास तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई थप सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनारमा नजान, जोखिमयुक्त स्थानमा आवतजावत नगर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न समेत अनुरोध गरिएको छ।
बाढीको अवस्था परिवर्तन हुन सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक लिन सरकारले आग्रह गरेको छ। साथै, अपुष्ट सूचना र अफवाहमा विश्वास नगरी आधिकारिक स्रोतबाट प्राप्त जानकारीका आधारमा मात्र आवश्यक निर्णय लिन तथा जोखिमको अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ।










