अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले प्रदर्शन गरेका छन्। यस वर्ष ए डिभिजन लिग नगरी अर्को वर्ष मात्र गर्ने एन्फाको निर्णयविरुद्ध खेलाडीहरू सातदोबाटोस्थित मुख्यालय पुगेका हुन्।
नेपाल फुटबल खेलाडी संघका अनुसार खेल्न पाउने आफ्नो आधारभूत हक सुनिश्चित गर्न उनीहरू सडकमा आउन बाध्य भएका हुन्। पटकपटक लिग स्थगन नगर्न अनुरोध गरेपनि बेवास्ता गरिएपछि खेलाडीहरूले प्रदर्शन गर्ने निर्णय गरेका हुन्। प्रदर्शनमा खेलाडीका साथै फुटबल समर्थकहरू पनि सहभागी छन्।
एन्फामा सुरक्षा व्यवस्था कडा पारिएको छ र गेट बन्द गरिएको छ। भित्र प्रवेशमा रोक लगाइएको छ। एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग सम्पन्न गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो।










