त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशत बढी हो। त्रिविका रजिस्ट्रार रबिन्द्र शिवाकोटीका अनुसार प्रस्तावित बजेटमध्ये १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट र १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट व्यहोर्ने प्रस्ताव गरिएको छ। कुल बजेटको ८६.१४ प्रतिशत सञ्चालन र १३.८६ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ। सरकारले त्रिविका लागि ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ। अघिल्लो वर्षको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँ कम अनुदान प्राप्त भएकाले तलब वृद्धि, प्रोत्साहन भत्तालगायतका दायित्व समेट्दा ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने शिवाकोटीले बताएका छन्। उनले उक्त रकमको व्यवस्था गरिदिन प्रधानमन्त्री तथा त्रिविका कुलपतिसमक्ष आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस !