बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिका–७ र ८ को सीमामा पर्ने अनाई खोलामा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का सम्झौता भएको दुई वर्षभित्र पुल निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको हो ।गत असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि वर्षायाममा सामग्री ढुवानीमा समस्या हुँदा काममा केही ढिलाइ भएको जनाइएको छ । २०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुल ५ करोड ३४ लाख १० हजार ९१८ रुपैयाँ लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको बजेटबाट पुल निर्माण भइरहेको र अबको तीन महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण व्यवसायी तारादत्त जोशीले बताए । सामग्री ढुवानीमा समस्या हुँदा केही समय काम प्रभावित भए पनि अहिले तीव्र गतिमा निर्माण भइरहेको उनको भनाइ छ ।
यस्तै, भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले अनाई खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले तत्काल काम सुरु गरी उल्लेखनीय प्रगति हासिल गरेको बताए ।
पुल निर्माण सम्पन्न भएपछि मार्तडी–कोल्टी सडकखण्डमा सवारी आवागमन सहज हुने र स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । वर्षायाममा खोला तर्न सास्ती खेप्दै आएका स्थानीय र सवारीसाधनलाई पुल निर्माणले ठूलो सहजता मिल्ने बडीमालिका–७ का स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।यद्यपि, अनाई खोलाको पुलले गति लिएको भए पनि सोही सडकखण्डको बाउली खोलामा निर्माणाधीन अर्को पुल भने करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । उक्त पुल टिडिआर जुगल कौशिक जेभीले निर्माण गर्ने जिम्मा लिएको भए पनि पटक–पटक म्याद थप्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।२०७८ कात्तिक १५ गते ५ करोड ५८ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भई २०७९ फागुन १५ भित्र मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हाल पुल निर्माण अधुरो र अस्तव्यस्त अवस्थामा रहेको छ । निर्माणमा लापरबाही देखिएको भन्दै सडक डिभिजन कार्यालय अछामले निर्माण कम्पनीलाई स्पष्टिकरणसमेत माग गरेको जनाएको छ ।










