वीरगञ्ज नाकामार्फत चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड रुपैयाँले बढी हो।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका थिए। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको ६ महिनामा यहाँबाट हुने निर्यात उल्लेख्य रूपमा बढेको छ।चालु आवको यस अवधिमा सबैभन्दा बढी २५ अर्ब ४२ करोड रुपैयाँ मूल्यको भटमासको प्रशोधित तेल निर्यात भएको छ। यसैगरी ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको फलफूलको जुस, ३ अर्ब ५५ करोड रुपैयाँ मूल्यको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।
त्यसैगरी २ अर्ब २५ करोड रुपैयाँ मूल्यको प्रशोधित पाम तेल तथा १ अर्ब ७८ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा पनि वीरगञ्ज नाकामार्फत निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।










