नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो।
गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो भने त्यसको अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार मात्र सुनको भाउ एकैदिन तोलामा ९ हजार २ सय रुपैयाँले बढेको थियो।त्यसैगरी, चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ कायम थियो। शुक्रबार चाँदीको भाउ तोलाको ६ हजार १ सय ९० रुपैयाँ रहेको थियो।










