vजिल्ला प्रशासन कार्यालय पर्सा ले वीरगञ्ज महानगरपालिका क्षेत्रमा बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको छ। प्रशासनले सुरक्षा संवेदनशीलता र शान्ति–सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कर्फ्यूको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। तोकिएको चार किल्लाभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण रोक लगाइएको छ। प्रशासनले अत्यावश्यक सेवामा भने सहजीकरण गर्ने जनाएको छ, जसअनुसार एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारी साधनहरू निर्वाध रूपमा सञ्चालन हुनेछन्। साथै सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई सुरक्षाकर्मीले आवश्यक सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लङ्घन गर्नेविरुद्ध कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।










