नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। तराई भू–भागमा भने मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हुस्सु, तुवाँलो, वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा ती क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।










