महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण र प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले ललितपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ।

महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने छाता संस्था महिला उद्यमी महासंघ नेपालले शुक्रबारदेखि नवौं संस्करणको मेला सञ्चालन गरेको हो।महासंघका अनुसार मेलाको मुख्य उद्देश्य देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका महिला उद्यमहरूको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्नु हो। साथै, महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्न पनि मेलाले सघाउ पुर्‍याउने विश्वास गरिएको छ।महिला उद्यमी, ठूला खरिदकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रबीच बीटूबी नेटवर्किङ र व्यापारिक सहकार्य बढाउन मेला महत्त्वपूर्ण हुने महासंघले जनाएको छ।२२ गतेसम्म सञ्चालन हुने यस मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्ताहरूको सहभागिता रहेको महासंघ अध्यक्ष दर्शना श्रेष्ठले जानकारी दिएकी छन्।मेलामा १४० वटा स्टल रहेका छन्, जहाँ प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामान, गलैंचा, हाते कागजका सामग्री, जैविक खाद्य पदार्थ, रैथाने खानेकुरा, कृषिजन्य उत्पादन, जडिबुटीका सामान, मूर्ति, गरगहना तथा सजावटका सामग्रीहरू प्रदर्शन गरिएको छ।

मेलाको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका थिए। समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि साथै कूटनीतिक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !