नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को १२औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अधिवक्ता कृष्ण प्रसाद पनेरुले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। भदौ १९ र २० गते बुटवलमा हुने महाधिवेशनअघि उनले “सशक्त संगठन, सक्रिय नेतृत्व र साझा जिम्मेवारीका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उम्मेदवारी घोषणासँगै पनेरुले डीएलएलाई अझ व्यवस्थित, प्रभावकारी र सदस्यमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संगठनमा आबद्ध अग्रज, सहकर्मी तथा देशभरका प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गरी साथ, सहयोग र शुभेच्छा प्रदान गर्न आग्रह गरेका छन्।कानुनी क्षेत्र र संगठनात्मक नेतृत्वमा लामो अनुभव बटुलेका पनेरुले नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य, डीएलएका पूर्व केन्द्रीय सदस्य तथा डीएलए काठमाडौं जिल्ला समितिका पूर्व अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।उनले महासचिवको जिम्मेवारी पाए संगठनको संस्थागत क्षमता अभिवृद्धि, कानुनी व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, सदस्यबीचको समन्वय र एकतालाई थप मजबुत बनाउने तथा लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संगठन निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन्।
डीएलएको १२औँ राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने भएकाले यसलाई संगठनको भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। उम्मेदवार पनेरुले लोकतान्त्रिक मूल्य र संगठनको सुदृढीकरणका पक्षमा आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै प्रतिनिधिहरूसँग विश्वास र समर्थनको अपिल गरेका छन्।










