नाट्टा (NATTA) निर्वाचनको सरगर्मी बढिरहेका बेला भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलबाट कार्यसमिति सदस्य पदका उम्मेदवार दिनेश मैनाली पर्यटन व्यवसायीमाझ चर्चामा रहेका छन्।
शुभम् ट्राभल्स एण्ड टुर्समार्फत विगत एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय मैनालीले आफ्नो अनुभवलाई संस्थागत सुधार र व्यवसायीको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध–५ का स्थायी बासिन्दा मैनालीले नाट्टाभित्र नीतिगत सुधार, व्यवसायीका हकहितको संरक्षण तथा युवा पर्यटन व्यवसायीको आवाज नेतृत्वसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
उनले पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सबै पक्षसँग सहकार्य गर्दै संस्थालाई थप प्रभावकारी र व्यवसायीमैत्री बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।
भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा र उपाध्यक्षमा सबिता केसी भट्टराईलगायत अनुभवी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ। प्यानलले अनुभवी नेतृत्व र युवा पुस्ताको सक्रिय सहभागिताले आगामी अगस्ट १४ मा हुने निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्ने विश्वास व्यक्त गरेको छ।











