चाडपर्व नजिकिएसँगै धरान–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लाबाट किसान र व्यापारी खसीबोका खरिदबिक्रीका लागि धरान आउने गरेका छन्।
बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा साप्ताहिक तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् भने दसैँ–तिहारमा यो संख्या १० हजारभन्दा बढी पुग्ने गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा बजारबाट करिब १ लाख ६० हजार खसीबोका बिक्री हुँदा तीन अर्ब रुपैयाँको कारोबार भएको उनले बताए। गत वर्षको चाडपर्वमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष खसीबोकाको कारोबार अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले बढिसकेको र चाडपर्वमा अझ वृद्धि हुने अपेक्षा गरिएको भट्टराईले बताए।
धरानबाट खरिद गरिएका खसीबोका काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री हुने गरेका छन्। बजारले पहाडी जिल्लाका किसानलाई सहज बिक्री केन्द्र उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्याउँदै आएको छ।










