नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएममार्फत १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएमबाट १०० रुपैयाँका नोट वितरण सुरु गरेका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार चाडपर्वका लागि छुट्टै प्रचार नगरी राष्ट्र बैंक, प्रादेशिक कार्यालय र वाणिज्य बैंकमार्फत सफा तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ। भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई ध्यानमा राख्दै नयाँ नोट सटहीबारे औपचारिक प्रचार नगरिएको उनले बताए। राष्ट्र बैंकले असोज १ गतेदेखि थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकमार्फत सफा नोट वितरण गरिरहेको जनाएको छ। पछिल्ला वर्षदेखि चाडपर्वमा ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने परम्परा घटाउँदै लैजाने नीति पनि राष्ट्र बैंकले लिएको छ।
गत भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा परिचालनमा रहेको राष्ट्र बैंकले जनाएको छ। दसैँका बेला सामान्य समयको तुलनामा मुद्रा माग ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ। एटिएमबाटै १०० रुपैयाँका नोट उपलब्ध हुन थालेपछि साना दरका नोट लिन बैंक काउन्टरमा लाग्ने भीड केही घट्ने अपेक्षा गरिएको छ।










