नेपालको जीवन्त सांस्कृतिक सम्पदा, पर्व, जात्रा र धार्मिक परम्परालाई विश्वभरका पाठकमाझ पुर्याउने उद्देश्यसहित दृश्य कथाकार तथा फोटोग्राफर युबेश धौभडेलले नयाँ तस्बिरपुस्तक ‘Confluence of Festivals: Temple Town to the World — An Invitation to Nepa Dey’ सार्वजनिक गर्ने भएका छन्।
भक्तपुर, काठमाडौं र ललितपुर समेटिएको नेपालमण्डलको सांस्कृतिक तथा आध्यात्मिक जीवनलाई समेटेर तयार पारिएको पुस्तकमा विगत एक दशकदेखि खिचिएका तस्बिरहरू समावेश छन्। पुस्तकले काठमाडौं उपत्यकाका विभिन्न चाडपर्व, धार्मिक अनुष्ठान, जात्रा, सांस्कृतिक प्रस्तुति, भक्तिभाव र दैनिक जनजीवनलाई दृश्य माध्यमबाट अभिलेखीकरण गरेको छ।
यो पुस्तक केवल पर्व तथा जात्राका तस्बिरहरूको सङ्ग्रह मात्र नभई सामूहिक स्मृति, सांस्कृतिक पहिचान र पुस्तौँदेखि निरन्तरता पाउँदै आएका परम्पराहरूको दस्तावेजका रूपमा तयार पारिएको लेखकले बताएका छन्। यसमा भक्तजन, कलाकार, सङ्गीतकर्मी, स्वयंसेवक, परिवार तथा समुदायको सहभागितामार्फत स्थानीय संस्कृति र सामाजिक सम्बन्धको चित्रण गरिएको छ।
लेखक धौभडेलका अनुसार पुस्तकले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा मात्र नभई संस्कृति, आध्यात्मिकता र मानवीय सम्बन्धले जोडिएको साझा संसारका रूपमा प्रस्तुत गर्नेछ। तिहारपछि पुस्तक सार्वजनिक गर्न लागिएको उल्लेख गर्दै उनले यसले नेपालमा रहेका तथा विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो संस्कृति, परिवार, आस्था र स्मृतिसँग जोड्ने विश्वास व्यक्त गरेका छन्।
भक्तपुरमा जन्मिएका धौभडेलले फोटोग्राफी, सांस्कृतिक अध्ययन र विश्वव्यापी दृष्टिकोणलाई आफ्नो सिर्जनात्मक अभ्यासमा समेट्दै आएका छन्। नेपाल, बेलायत र अमेरिकामा हासिल गरेको शिक्षा तथा कार्यानुभवले उनको दृश्य कथावाचनलाई थप फराकिलो बनाएको छ। उनका तस्बिरहरू Sony Alpha Universe मा प्रकाशित भइसकेका छन्।
यसअघि धौभडेलको यही नामको फोटोग्राफी प्रदर्शनी अमेरिकाको कोलोराडोस्थित अरोरा हिस्ट्री म्युजियममा आयोजना गरिएको थियो। सन् २०२५ फेब्रुअरी १८ देखि जुन १५ सम्म सञ्चालन भएको उक्त प्रदर्शनीले नेपालको पर्वसंस्कृति र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेको थियो।
पुस्तकमार्फत नेपालको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, पुस्तान्तरण सिकाइ, सांस्कृतिक पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सांस्कृतिक संवादलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। तीव्र रूपमा परिवर्तन भइरहेको विश्व परिवेशमा मौलिक परम्परा र सामुदायिक अभ्यासको महत्त्व उजागर गर्नु पुस्तकको अर्को उद्देश्य रहेको लेखकले बताएका छन्।
पुस्तकको लोकार्पण मंसिर ४ गते शुक्रबार (२० नोभेम्बर २०२६) काठमाडौंको ठमेलस्थित केजिएच ठमेलमा म्युजियम अफ नेपाली आर्टस् (मोना) को सहकार्यमा आयोजना हुनेछ। दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा पुस्तक लोकार्पण, तस्बिर प्रदर्शनी, लेखकसँग विशेष संवाद, विचार आदानप्रदान तथा हस्ताक्षरसहित पुस्तक बिक्रीको व्यवस्था गरिनेछ।
त्यस्तै, मंसिर ५ देखि १४ गतेसम्म (२१ देखि ३० नोभेम्बर २०२६) बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तस्बिर प्रदर्शनी सञ्चालन हुनेछ। पुस्तक लोकार्पनकै दिनदेखि मोना तथा काठमाडौं आर्ट हाउसबाट खरिद गर्न सकिनेछ भने अनलाइनमार्फत ब्लर्बको वेबसाइटमा पनि उपलब्ध हुनेछ।
पुस्तकले नेपालको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय पाठक, प्रवासी नेपाली समुदाय, शिक्षाविद्, सांस्कृतिक संस्था, पुस्तकालय, सङ्ग्रहालय तथा फोटोग्राफीप्रेमीमाझ पुर्याउने अपेक्षा गरिएको छ।











