सिन्धुलीको कमलामाई नगरपालिकाका उद्योगीलाई राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने भएको छ । सहुलियतपूर्ण कर्जा दिने विषयमा बैंक र नगरपालिकाबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने जनाइएको छ । नगरपालिकाको सिफारिसबमोजिम उद्यमीलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो कुल कर्जाको एक प्रतिशतबराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पुर्‍याउने बताएको जनाइएको छ ।

नगर प्रमुख खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्नका लागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !