कर्णाली प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति हुने भएको छ ।
बिहीबार प्रदेश सरकारकोतर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारकोतर्फबाट नेपाल नागरिक उड्ययन प्राधिकरणबीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अब सुर्खेत विमानस्थल १ हजार ५ सय मिटर पुर्याइनेछ । जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास कार्य गरिने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार यी कामको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० करोड रुपैयाँ छुट्याएको छ । ‘दुई सरकारको संयुक्त लगानीमा विमानस्थलको विकास गरिनेछ,’ उनले भने, ‘केही सयममै टेन्डर गरेर काम सुरु हुनेछ ।’
अहिले सुर्खेत विमानस्थलको धावनमार्ग १ हजार २ सय ५५ मिटर रहेको छ । यसले गर्दा ठूलो आकारका विमानहरु अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार तथा स्तरोन्नतिमा लामो समयदेखि लबिइङ गर्दै आएका नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय कोषाध्यक्ष एवं कर्णालीका अग्रणी व्यवसायी निरक केसीले अब कर्णालीको लागि तत्काल अर्को विमानस्थलको आवश्यकता नरहने बताए । ‘अर्को ठाउँमा विमानस्थल बनाउने कुरा तत्कालको लागि असम्भव र महँगो हुने निश्चित थियो,’ उनले भने, ‘धावनमार्ग विस्तार गरेर १५ सय मिटर पुर्याउने बित्तिकै कर्णालीको आवश्यकतालाई सहजै पूर्ति हुन सक्छ ।’
समझदारीपत्रमा प्रदेश सरकारले जग्गा अधिग्रहणका साथै अन्य कार्यमा सहजीकरण तथा समन्वय गर्ने र जग्गा अधिग्रहणमा लाग्ने खर्चको ५० प्रतिशत नागरिक उड्ययन प्राधिकरणलाई दिने उल्लेख छ । त्यस्तै प्राधिकरणले विमानस्थल विकास, विस्तार र स्तरोन्नतिको प्राविधिक प्रतिवेदन तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गर्ने, अधिग्रहण गर्नुपर्ने जग्गाको पहिचान गर्ने, विमानस्थल विस्तार, विकास र स्तरोन्नतिको लागि आवश्यक कार्य गर्ने उल्लेख छ ।
सझदारीपत्रमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले हस्ताक्षर गरेका छन् ।
कान्तिपुर दैनिकबाट साभार गरिएको ।