तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न हिँड्नुबाहेक अर्को विकल्प थिएन । गाउँसम्म पुग्नका लागि पैदलमार्गबाहेक बाटो नभएका कारण करिब ४५ मिनेटको समय हिँड्नुपर्ने बाध्यता थियो । अब भने यहाँका सर्वसाधारणलाई सहज भएको छ । उक्त गाउँ पहिलोपटक सडक सञ्जालमा जोडिएको छ । वडा कार्यालयले गाउँसम्म पुग्नका लागि सडक खनेर सकेको छ । वडा कार्यालयको रु चार लाख र स्थानीयवासीको रु ५० हजार गरी रु चार लाख ५० हजारको लागतमा सडक खन्ने काम सम्पन्न भएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार तिहार अगाडिबाट काम शुरु भएको थियो । उक्त सडकको दूरी एक हजार ५०० मिटर छ । किसेदी गाउँका स्थानीयवासी सडक सञ्जाल जोडिएपछि खुशी भएका छन् । म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्देखोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ । घेरौदी रिठ्ठेपानी म्याग्देखोला बक्स कल्भर्ट निर्माण उपभोक्ता समितिमार्फत निर्माण शुरु भएको कल्भर्टको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गर्नुभयो । सो अवसरमा रानाले निर्धारित समयमै गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर थापाले रु १८ लाखको लागतमा छ मिटर कल्भर्ट निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

म्याग्देखोलामा कल्भर्ट नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिम मोलेरै आवतजावत गर्दै आइरहेका छन् । “कल्भर्ट निर्माण भएपछि सहजरूपमा आवतजावत गर्न सजिलो हुन्छ”, थापाले भन्नुभयो । कुखुराको खोरभित्र कौडा खेल्ने १९ पक्राउ तनहुँको व्यास नगरपालिका–१२ बेलघारीबाट तीन लाख नगदसहित १९ जुवाडे पक्राउ परेका छन् । स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा कौडा खेलिरहेका १९ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गणेश बयलकोटी, विनोद गुरुङ, शम्भु श्रेष्ठ, देवेन्द्र थापा, रुद्रबहादुर खत्री, गोविन्द न्यौपाने, कृष्ण सेढाईँ, दिनेश राना, कमल पन्त, राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, विजय घिमिरे, किशोर श्रेष्ठ, सुकबहादुर थापा, तेजबहादुर राना, भीमसेन श्रेष्ठ, मीनबहादुर गुरुङ र पशुपति अर्याल छन् । प्रहरीले निजहरुको साथबाट नगद रु तीन लाख १० हजार ९९० बरामद गरेको छ । पक्राउ परेका विरुद्ध बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा मद्दामा म्याद थप गरिएको छ ।

#शुक्लागण्डकी नगरपालिका

प्रतिक्रिया दिनुहोस !