राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड लामो समयदेखि अलपत्र अवस्थामा छ । बागलुङको दुर्गम मानिएको निसीखोला, ढोरपाटन, बडिगाडलगायतका क्षेत्रमा कालोपत्र भएर सुगम बनेको सन्दर्भमा सुगम मानिएको जिल्लाकै सदरमुकाम बागलुङ बजार नै दुर्गम भएजस्तो देखिएको छ । निसीखोलाबाट सरर कालोपत्र सडकमा गुड्दै आएका यात्रुहरु घोडाबाँधे आएपछि हिउँदमा धुलो र बर्सातमा हिलोमा फस्दै सदरमुकाम आउनुपर्ने बाध्यता अहिले पनि कायमै छ । ठेक्का सम्झौता भएको पाँच वर्षसम्म कालोपत्र हुन नसकेको लोकमार्गमा अहिले फाट्फुट काम भएको देखिन्छ । निर्माण व्यवसायीले बागलुङ सदरमुकाम खण्डमा कालोपत्र गर्ने गरी अब गति लिने बताउँदै आएका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्र हुन नसकेको विषयमा सर्वत्र चासो बढेपछि लोकमार्ग आयोजना कार्यालय पर्वतले कालोपत्र गर्नका लागि लामो समयपछि पहल थालेको छ । लोकमार्गका कारण दुर्गम मानिएको बागलुङको पश्चिम क्षेत्रका सबैजसो सडक कालोपत्र भएर सुगम बनिसकेका छन् । तर जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधे खण्डको सडक ठेक्का सम्झौता भएको पाँच वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन ।

कालोपत्र हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्सातको समयमा हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ । आयोजनाको ट्र्याक खोलेको २० वर्ष बितिसक्दासमेत कालोपत्र नभएकामा यहाँका जनप्रतिनिधि, स्थानीय प्रशासन, नेताहरुले चर्को आलोचना खेप्दै आएका छन् । आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीको पहल र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । जसलाई बागलुङमा सकरात्मक पहलका रुपमा समेत लिइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डका मुख्य ठेकदार, जनप्रतिनितधि, राजनीतिक दल, पालिका प्रमुखहरुले समेत सामूहिक रुपमा कालोपत्रका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि कालोपत्र नहुनु गम्भीर लापरबाही भएको भन्दै सरोकारवालालाई जवाफदेही बनाउन ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि राखेर स्पष्टीकरण लिने र आगामी प्रतिबद्धता लिने काम भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । “कार्यालय प्रमुख भएर आएको लामो समय भएको छैन तर यस अवधिमा थुप्रै सकारात्मक पहल गरेको छु, सरोकारवालासँगको समन्वयमा सडक बन्न नसकेको यथार्थ हो”, मरासीनीले भन्नुभयो, “सबैको पहलमै सडक कालोपत्र हुनेमा आशावादी छौँ, पहिलोपटक मुख्य ठेकेदारहरुलाई जिल्ला झिकाएर प्रजिअले निर्देशन गर्नुभएको छ, अरू सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।” गण्डकी प्रदेशका सांसद चन्द्रबहादुर बुढाले अहिलेसम्म लोकमार्ग कालोपत्र नहुँदा यहाँका जनताले ठूलो समस्या भोगेकाले अब यसबाट निर्माण कम्पनी भाग्ने छुट नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !