जिल्लामै पहिलो पटक गोरखा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा स्वास्थ्य तथा नर्सिङ सेवा सुरु गरेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन सो सेवा सुरु गरिएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।

पहिलो चरणमा नगरपालिकाका १७ वटा माध्यमिक तहका विद्यालयका लागि १३ जना स्टाफनर्स नियुक्त गरिएको मेयर पन्तले जानकारी दिए । ‘तीनसय जनाभन्दा धेरै विद्यार्थी रहेका विद्यालयमा एक जना नर्स र तीनसय भन्दा कम विद्यार्थी भएका विद्यालयमा दुईवटा विद्यालयमा एकजनाले काम गर्नेगरी नर्स नियुक्त गरिएको छ’, उनले भने, ‘यसो गर्दा नौवटा विद्यालयमा नौ जना नर्स र आठ वटा विद्यालयमा चार जना नर्स नियुक्त भएका छन् ।’ उनीहरुलाई पुस १, २ र ३ गते अभिुखीकरण कार्यक्रम गरी काममा खटाइने उनले बताए ।

उनीहरुले विद्यालयमा गई किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धनका साथै महिना वारी स्वास्थ्य व्यवस्थापनमा टेवा पुर्‍याउनेछन् । ‘विद्यालय तहबाटै बालबालिकालाई स्वास्थ्य जीवन शैली अपनाउन प्रेरित गर्ने, विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवा प्रदान गर्ने, स्वस्थ, सफा र सिकाइमैत्री वातावरण तयार गर्नका लागि नर्सहरुले काम गर्नुहुनेछ’, नगर शिक्षा शाखाका विश्वनाथ वाग्लेले भने, ‘व्यवहार परिवर्तनमा आधारित स्वास्थ्य शिक्षा प्रदान गर्ने, स्वास्थ्यसंग सम्बन्धित विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने, विद्यालय उमेरका बालबालिकाको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने, प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको हो ।’ साथै समयमा नै स्वास्थ्य समस्याको पहिचान तथा रोकथाम गरी जटिलता देखिएमा समयमै सम्बन्धित अस्पतालमा प्रेषण गर्ने र विद्यार्थीहरुको विद्यालय छाड्ने दर घटाउने उद्देश्यले यो कार्यक्रम लागु गरिएको उनले बताए ।

सरकारले सो सेवा सञ्चालनका लागि विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा सञ्चालन निर्देशिका २०७६ जारी गरिसकेको छ । निर्देशिकाअनुसार गोरखा जिल्लामा पहिलो पटक गोरखा नगरपालिकाले स्वास्थ्य सेवा, पाँचौ तहका स्टाफ नर्स नियुक्त गरी कार्यक्रम अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस !