
माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्न बाली उत्पादनमा ह्रास आएपछि आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण सप्ताह शुरु गरेको छ । गाउँपालिकाले ६ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरेर माटो परीक्षण गर्न शुरु गरेको हो ।
माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने उद्देश्यले कृषकको जमिनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले बताए । दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गरिने उहाँले बताउनुभयो । ती लगाउन कृषकलाई सहयोग गरिने छ ।
सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब ६०० कृषकको माटो परीक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताएका छन । उनले भने, “व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्नेछ, त्यसमा हामी पनि सहयोग गर्नेछौँ ।” उनका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडा वासीलाई जानकारी गराएपछि नमुनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् ।