![](https://palikasamachar.com/wp-content/uploads/2021/03/kudkechula-ga-pa.jpg)
मुड्केचुला गाउँपालिकाले आगामी वैशाखभित्र सबै वडा कार्यालय भवन निर्माण गर्ने भएको छ । यसका लागि गाउँपालिकाले नौवटै वडाका भवन निर्माणलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । स्थानीय सरकारका भौतिक पूर्वाधारलाई स्थायित्व दिन कार्यालय भवन निर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । वडा नं ८ को भवन गत मङ्गलबार र वडा नं ६ को गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको थियो ।
सभाहल, प्रतीक्षालयसहितको सुविधायुक्त भवन निर्माण गर्न रु २५ लाख खर्च छुट्याइएको उहाँले जानकारी दिनुभयो । वडा भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा दान दिएका थिए । निर्माणको जिम्मा सम्बन्धित वडाध्यक्षलाई नै दिइएपछि भवन छिटो निर्माण भएको गाउँपालिका अध्यक्ष दत्त शाहीले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भएपछि सबै वडाका आफ्नै भवन बनाउने गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह बन्ने उहाँको भनाइ छ ।