पानी नपरेर कृषि काम अघि नबढेपछि चर्को गर्मीमा मिथिलानी (मैथिल गृहिणी, मिथिलाका नारी) ‘गुइँठा’ बनाउँदै इन्धनको जोहोमा लागेका छन् । खेतीपातीको काम खासै नभएपछि महोत्तरीका गाउँ÷नगर बस्तीमा खाना पकाउने इन्धनको जोहोमा मिथिलानीहरुको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने व्यस्तता बढेको हो । पानी नपरी हिउँद बितेपछि खेतबारी खनजोत र अन्य कृषि काम अघि बढ्न नसकेका बेला अहिलेको चर्को गर्मीलाई मिथिलानीले इन्धनको जोहोमा गुइँठा बनाउन प्रयोग गरेका हुन् । कृषि कार्यमा फुर्सदको बेला परेपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’ पनि भनिन्छ) बनाउने व्यस्तता बढेको हो । प्रायजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिलेको चर्को गर्मीबीच गृहिणीको ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । चर्को घाममा गुइँठा, चिपरी चाँडै सुक्ने भएको हुँदा समयको सदुपयोग भएको मिथिलानीको भनाइ छ । खेतीपातीको अन्य काम खासै नभएको बेला अहिले चर्को घामले ‘गुइँठा’ चाँडै सुक्ने भएको हुँदा यो काममा लागिएको मिथिलानी बताउँछन् । वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ पथार्ने गरेको गृहिणीको भनाइ छ । घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ ।

सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ । अहिलेको चर्को घाम यसका लागि अनुकूल समय भएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैल महतो बताउनुहुन्छ । “के गर्नु पकाएर खानु परिहाल्छ”, धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिनुभएकी महतोले भन्नुभयो, “अहिले काममा बाहिर निस्कनुपरेको छैन, त्यसैले घरमै बर्षभरिलाई चाहिने चिपरी र गोरहा पथार्दै छु ।” जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा पनि गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने बताउनुहुन्छ । यद्यपि गुइँठाको धुँवा भान्साकोठामा रुमल्लिँदा त्यसको असरले आम ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या बढेको झा बताउनुहुन्छ । खासगरी वनक्षेत्र टाढा भएका र घरको आर्थिक अवस्थाले खाना पकाउने ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ । मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । खेतबारीमा हाल्नुपर्ने प्राङ्गारिक मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–४ रामनगरका ७० वर्षीय किसान इद्रिस मियाँ भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने गोबर मल नभएपछि उत्पादन निकै घटेको छ ।” यसले रासायनिक मलमा निर्भर हुनपर्ने अवस्था आएको मियाँको थप भनाइ छ । अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !