राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावलीलाई लिएर दाबी–विरोध प्रक्रिया जारी रहेको छ। प्रारम्भिक प्रतिनिधि सूचीमा नाम छुटेको वा हटाइएको गुनासो आएपछि पार्टीले दाबी–विरोध दर्ताका लागि अतिरिक्त समय प्रदान गरेको हो।

महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि प्रतिनिधि सूचीमाथि दाबी–विरोध दर्ता गर्न समय तोकिएको थियो। यद्यपि, राति ८ बजेपछि फाराम वितरण कार्य रोकिए पनि त्यसअघि सुरु भएका प्रक्रियालाई निरन्तरता दिइएको छ।रास्वपाकी नेता क्रान्ति शिखा धिताल का अनुसार हालसम्म दाबी–विरोधका फाराम वितरण र दर्ता प्रक्रिया जारी छ। प्राप्त उजुरी तथा दाबी–विरोधमाथि सम्बन्धित समितिले आवश्यक छलफल र अध्ययन गरी निर्णय गर्नेछ। त्यसपछि मात्रै प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिने उनले जानकारी दिइन्।निर्वाचन समितिका एक सदस्यका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र (आईडी कार्ड) उपलब्ध गराइनेछ। उक्त परिचयपत्र प्राप्त गरेका प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।महाधिवेशनमा देशभरका जिल्ला समिति तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन चितवन पुगेका छन्। तर प्रारम्भिक सूची सार्वजनिक भएपछि केही प्रतिनिधिहरूले आफ्नो नाम हटाइएको वा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए। सोही गुनासोलाई सम्बोधन गर्न दाबी–विरोधको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

पार्टीले प्रतिनिधि सूचीलाई अन्तिम रूप दिएपछि महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइने जनाएको छ। प्रतिनिधि नामावली टुंगो लागेसँगै नेतृत्व चयन, केन्द्रीय समिति गठन तथा पार्टीको भावी राजनीतिक कार्यदिशाबारे हुने छलफल र निर्णय प्रक्रियाले पनि गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !