नेपालको सबैभन्दा लामो तथा करिब १,६०० वर्ष पुरानो सांस्कृतिक–धार्मिक पर्व रातो मच्छिन्द्रनाथको रथयात्रा आज शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुँदैछ। ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा भोटो प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने चलन रहिआएको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। राजतन्त्रकालमा राजाको उपस्थितिमा हुने भोटो जात्रा गणतन्त्र स्थापनापछि राष्ट्रपतिको उपस्थितिमा सञ्चालन हुँदै आएको छ। भोटो जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई परम्परागत बाजागाजासहित बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइनेछ। आयोजक पक्षले जात्रामा सहभागी भक्तजन तथा दर्शकलाई सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न तथा जावलाखेल क्षेत्रमा फुटपाथ व्यापार नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !