काठमाडौँ उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्ने २,५५६ सवारी चालकलाई पछिल्लो २४ घण्टाभित्र कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कारबाहीमा परेकामध्ये १०६ जना मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक रहेका छन् भने १५४ जना नियमविपरीत राइड सेयरिङ, १०७ जना ट्राफिक बत्ती उल्लङ्घन गर्ने र १८३ जना अत्यधिक गतिमा सवारी चलाउने चालक रहेका छन्। यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ९७ जना, निषेधित क्षेत्रमा हर्न प्रयोग गर्ने १०९ जना र सडक पेटीमा पार्किङ गर्ने ९८ जनालाई समेत कारबाही गरिएको छ। साथै, प्राविधिक मापदण्ड पूरा नगरेका ३० वटा सवारीसाधनमाथि पनि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने थप १,६७२ जना चालकलाई पनि कारबाही गरिएको छ। सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उपत्यकाभर नियमित निगरानी र कारबाही अभियान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !