दुई वर्ष पहिला भेरी नगरपालिका–१० भुरचौरका थेपो कामीले भेरी नदीमा पानी ल्याउन पठाएका आठ वर्षीय छोरा नरबहादुर नेपाली भेरीकै सिकार भएका थिए । छोरो गुमाएपछि मन शान्त नभएको बताउने थेपोको घरआँगनमै अहिले पानी पुगेको छ । पटक–पटक पानी गाउँमा ल्याउन माग गरेका उहाँलगायत गाउँलेले धेरै आफन्त पानीकै लागि गुमाएपछि भुरचौरमा बल्ल पानी पुगेको छ । थेपोका छोरा जस्तै चार वर्षअघि पानी भर्न नदीमा जाँदा १५ वर्षका कृष्ण खत्रीलाई भेरीले बगाएको थियो भने छ वर्षअघि १२ वर्षका कर्णबहादुर विकलाई समेत नदीले बगाएको थियो ।

भेरीको पानी ल्याउन जाने स्थानीयवासी भेरीकै सिकार भएपछि पीडाको सीमा नाघेको बताउने भुरचौरवासी अब गाउँमै पानी आएपछि खुशी मात्र भएका छैनन्, मानवीय क्षति हुनबाट जोगिएको भन्दै पहलकर्ता पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई धन्यवादसमेत दिएका छन् । एक घण्टा उकालो दूरीमा पानी बोकेर पिउनुपर्ने बाध्यता अन्त्य भएपछि भुरचौरका सर्वसाधारणले पानीको दुःख कम भएको बताएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा लिफ्ट खानेपानी निर्माण गरेसँगै भुरचौरमा खानेपानी गाउँमै पुगेको हो ।

भुरचौरमा मानव बस्ती स्थापनासँगै खानेपानीको समस्या झेल्दै आएका थिए । पटक–पटक मन्त्रीदेखि नगरपालिकासम्म धाएर खानेपानीको माग राखेका भुरचौरवासीको माग सम्बोधन भएपछि खुशीको सीमा नै नरहेको स्थानीयवासी अस्मिता शाहीले बताउनुभयो । रु ६० लाख बजेटमा भेरी नदीको किनारबाट भुरचौरमा खानेपानी पु¥याउन सफल भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयकाका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो । भेरी नदीको किनारबाट १९४ मिटर उचाइमा सोलार र विद्युत्बाट चल्ने मल्टिपम्पिङ सेटबाट पानी चढाएर ६५ एमएमको जिआइ पाइपमा ४०० मिटर लम्बाइ दूरीमा प्रतिसेकेण्ड पाँच लिटर पानी भुरचौरमा पु¥याइएको शाहीले बताउनुभयो । पानी भर्न भेरी नदीमा पुगेका कयौँले ज्यान गुमाउनुपरेको स्मरण गर्दै स्थानीयवासी कर्णबहादुर शाहीले लिफ्ट खानेपानी योजना सफल हुनुले भुरचौरवासीले पानी बोक्ने दुःखबाट मुक्ति पाएको बताउनुभयो ।

पञ्चायतकालदेखि शुरु गरिएको भुरचौर सिँचाइ आयोजनाले हालसम्म पूर्णता पाउन नसक्दा स्थानीयवासी आक्रोशित भएका थिए । पूर्वमन्त्री बस्नेतको विशेष प्रस्तावमा तत्काल खानेपानी समस्या समाधान गर्न बहुवर्षीय आयोजनाका रूपमा भुरचौर लिफ्ट खानेपानी योजना छनोट गरी काम गरिएको कार्यालय प्रमुख शाहीले बताउनुभयो । दुई सय ५० घरधुरीको घरघरमा पाइप लाइन विस्तार गरी खानेपानी धारा निर्माण गर्ने काम अझै बाँकी रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो । उक्त आयोजनालाई दिगो बनाउनुका साथै उपभोक्ताले नियमितरूपमा तिर्नुपर्ने विद्युत् महसुललाई कम गर्न मर्मसम्भार कोषको आवश्यकता रहेको जानकारी दिँदै कार्यालय प्रमुख शाहीले दुईवटा पम्पिङ सेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । थप कामका लागि बजेट व्यवस्थापन हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !