लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् । कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद , रामस्वरुप , हरिबोध , रामानन्द , कुशेश्वर, भुवनेश्वर , सन्तोश , महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो । अझै घर आँगनमा दुई÷तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भन्नुभयो “ खाद्यान्न पनि सकिन लाग्यो ।

के खाएर छाक टार्ने ?” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारीदिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारीदिनुभयो । बिग्रियो पीसीआर मेसिन तीनहप्तादेखि ठप्प रहेकोे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझै सुरुआत हुन सकेको छैन ।

गत साउनको दोस्रो हप्तादेखि सो पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पीसीआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ । अस्पतालका डा रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारीदिँदै मरमतको प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !