निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ । रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतबार राति १० बजेसम्म पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले बहाव थोरै घटेर गएको छ ।

बस्तीमै बाढी प्रवेश गर्न थालेकाले त्यहाँका बासिन्दालाई राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताउनुभयो । तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतबारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !