जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिङ्गो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मङ्गलबारदेखि बत्ती बलेको छ गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा जीवन बिताउन बाध्य थिए । गाउँपालिकाको आठवटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । अविरल वर्षाले श्रृङ्गपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ ।

उक्त स्थानमा अघिल्लो महिनाको वर्षात्ले जस्तै गरी क्षति पुगेको उहाँले बताउनुभयो । वर्षाका कारण गाउँपालिकाका आठ घरमा पूर्ण क्षति भएको छ । उहाँले भन्नुभयो, “आंशिक क्षति भएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।” ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भाँसिएर क्षति भएको गाउँपालिकाले जनाएको छ । श्रृङ्गपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आवतजावतमा कठिनाइ भएको छ । यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएसँगै मानिसको आवतजावतमा कठिनाइ भएको छ ।

ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । त्यस्तै पहिराका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग जोडदार माग गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !